मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
छठ पर्व मनाउन काठमाडौंको टीकाथलीबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको इभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको छ। घाइते हुनेमा तीन पुरुष र दुई बालक छन्। घाइते पाँचै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ। मुकेश र सक्षमको अवस्था सामान्य रहेको तथा सुदनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते मुकेश यादवका अनुसार उनीहरू छठ मनाउन गाउँ फर्किने क्रममा काठमाडौंको टीकाथलीबाट गाडी बुक गरेर राति करिब २ बजे यात्रा सुरु गरेका थिए। गाडीमा एउटै गाउँका छिमेकी तथा आफन्त गरी करिब १४ जना सवार थिए।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा परिचालन गरी खोजतलास तथा उद्धार कार्य जारी राखिएको छ।
प्रहरीका अनुसार दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो।
भिरालो क्षेत्रमा दुर्घटना भएकाले उद्धार तथा खोजतलासमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलाउने तथा दुर्घटनाको कारण पत्ता लगाउने काम भइरहेको छ।
प्रतिक्रिया दिनुहोस