काठमाडौ । नेपालमा बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर नेपाल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत लु नुलीले सहयोग रकमको चेक अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत तारा गौतमलाई हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।
फाउन्डेसनका सीईओ नुलीले अस्ट्रेलियामा रहेका सहयोगी, शुभेच्छुक तथा विभिन्न समुदायको सहकार्यमा नेपालका बाढीपहिरो प्रभावितलाई सहयोग गर्न रकम संकलन गरिएको बताए।
सन् २०१५ मा स्थापना भएको फाउन्डेसनले नेपालका दुर्गम समुदायमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्यालय तथा सामुदायिक पूर्वाधार निर्माण र दिगो विकासका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण तथा स्वास्थ्य, शिक्षा र खानेपानीसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
कार्यवाहक राजदूत गौतमले विपद्का बेला नेपालका प्रभावित नागरिकलाई सहयोग पुर्याएकोमा फाउन्डेसन, स्वयंसेवक तथा सहयोगदाताप्रति आभार व्यक्त गरिन्।
नुलीले आगामी दिनमा बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र आवश्यकताबारे अध्ययन गर्न इन्जिनियर तथा विभिन्न विषयका विज्ञ सम्मिलित टोली नेपाल पठाउने तयारी भइरहेको जानकारी दिए। टोलीले स्थलगत अध्ययन गरी आवश्यक प्राविधिक सहयोग तथा पुनर्निर्माणका सम्भावित योजनाबारे काम गर्ने उनले बताए।
कार्यक्रममा नेपाली दूतावासका कर्मचारी, फेन्काका प्रतिनिधि डा. कृष्ण हमाल तथा फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस