काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्। उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट कैदमुक्त भएका हुन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुट सुविधाअनुसार रायमाझी रिहा भएका हुन्। उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो।
रायमाझीको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी सुविधाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो। तिहारअघि नै प्राप्त उक्त कैदीपुर्जीका आधारमा उनलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागारका एक अधिकृतले बताएका छन्।
कारागारका जेलर बाबुराम अर्यालले पनि रायमाझीलाई बिहीबार रिहा गर्न अदालतबाट तिहारअघि नै पत्र प्राप्त भएको जानकारी दिए। उनका अनुसार संशोधित कैदीपुर्जीमा बिहीबार रिहा गर्नुपर्ने उल्लेख थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार रायमाझीले उक्त सुविधा पाएका हुन्।
प्रतिक्रिया दिनुहोस