after_navbar

लुम्बिनीमा बालविवाह विरुद्धको दिवसमा प्रदेशस्तरीय कार्यक्रम गरिने


मङि्सर ०५, २०८३


लुम्बिनीमा बालविवाह विरुद्धको दिवसमा प्रदेशस्तरीय कार्यक्रम गरिने

दाङ । लुम्बिनी प्रदेश बाल अधिकार संसदीय मञ्चले बालविवाह विरुद्धको दिवसमा प्रदेशस्तरीय कार्यक्रम गर्ने भएको छ । संयुक्त राष्ट्रसंघीय (यूएन) सभाले घोषणा गरेअनुसार नोभेम्बर २७ अर्थात् मंसिर ११, २०८३ मा ‘कलिलो उमेर, जबर्जस्ती तथा उमेर नपुगेको बालविवाह विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ लुम्बिनी प्रदेशमा बृहत् कार्यक्रम गरेर मनाउन लागिएको हो ।

प्रदेश सरकार र सामाजिक संघसंस्थाको सहकार्यमा बालविवाह विरुद्धको पहिलो अन्तर्राष्ट्रिय दिवस लुम्बिनीमा मनाउन लागिएको लुम्बिनी प्रदेश बाल अधिकार संसदीय मञ्चकी संयोजक धनलक्ष्मी श्रेष्ठले जानकारी दिइन् । प्रदेश सभा सदस्यहरूको साझा मञ्चको रूपमा रहेको लुम्बिनी प्रदेश बाल अधिकार संसदीय मञ्चको बुधबार बसेको बैठकले मंसिर ११ गते बालविवाह विरुद्धको दिवस मनाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने र राज्यले सन् २०३० सम्ममा बालविवाहमुक्त देश बनाउने लक्ष्य लिएकाले उक्त अभियानलाई सफल बनाउन मञ्चले भूमिका खेलिरहेको संयोजक श्रेष्ठले बताइन् । विश्वलाई बालविवाहमुक्त बनाउने अभियान सुरु भएको दिनलाई यूएन सभाले बालविवाह विरुद्धको दिवसको रूपमा मनाउने निर्णय गरेको छ । अहिले बालविवाह विरुद्धको अभियानमा विश्व नै एक भएर लागेको छ, जसको अगुवाइ ‘जस्ट राइट्स फर चिल्ड्रेन’ ले गरिरहेको छ ।

मञ्चकी संयोजक धनलक्ष्मी श्रेष्ठको अध्यक्षता तथा मञ्चका संरक्षक एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको आतिथ्यमा बसेको बैठकले बालविवाह विरुद्धको अन्तर्राष्ट्रिय दिवस मंसिर ११ गते राजधानी क्षेत्रमा मनाउने निर्णय गरेको हो ।

बैठकमा मञ्चका सदस्यहरू लोकीकुमारी विक, मीना बुढा, सुशीला वादी, मीना बोहरा सिद्दिकी लगायतले प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउन सबै पक्ष एक भएर जानुपर्ने र प्रदेश सरकारको १० वर्षे रणनीति अनुसार बालविवाहमुक्त बनाउने लक्ष्यलाई सफल बनाउनुपर्ने बताए । उनीहरूले पहिलो बालविवाह विरुद्धको दिवसलाई भव्य बनाउनुका साथै यस्ता अभियानहरूलाई प्रभावकारी र सफल बनाउनुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय तथ्याङ्क अनुसार लुम्बिनीमा बालविवाहको दर र जोखिम दुवै उच्च रहेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="