after_navbar

शान्ति सम्झौताको दुई दशक : पीडितले अझै पाएनन् न्याय


१३ घण्टा अगाडि


दाङ। विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्दा पनि सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा पुग्न नसकेको भन्दै नागरिक अगुवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शनिबार तुलसीपुरमा आयोजना गरेको नागरिक संवादमा सहभागी वक्ताहरूले द्वन्द्वपीडितलाई न्यायको अनुभूति हुने गरी शान्ति प्रक्रियाका बाँकी काम तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि नागरिक अगुवा तथा प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मीले शान्ति प्रक्रियालाई पूर्णता दिन नयाँ सरकारले विशेष पहल गर्नुपर्ने बताए। लामो समयदेखि अल्झिएको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई थप ढिलाइ नगरी पीडितले न्याय पाउने गरी अघि बढाउनुपर्ने उनको भनाइ थियो। उनले खोजी पत्रकारलाई जेल हाल्ने सरकारी कार्यको आलोचना गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि आग्रह गरे।

मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहनप्रसाद धितालले पटक-पटक आयोग गठन भए पनि शान्ति सम्झौताको मूल मर्मअनुसार काम हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

द्वन्द्वपीडित नवीन योगीले तत्कालीन विद्रोही पक्षबाट आफ्ना बुवाको हत्या भएको लामो समय बितिसक्दा पनि न्याय नपाएको पीडा सुनाए। हजुरबुवाको किरियामा बसेका बेला बुवाको हत्या भएको स्मरण गर्दै उनले पीडितले अझै न्यायको प्रतीक्षा गर्नुपरेको बताए।

कार्यक्रममा मानव अधिकारकर्मी सुष्मा गिरि लामिछाने, संस्थाका पूर्व सभापति नवीनकुमार पोख्रेल, पत्रकार शरद रेग्मी, सल्लाहकार कोमल डिसी र पत्रकार नारायण खड्कालगायतले द्वन्द्वपीडितलाई न्याय दिलाउन सत्य निरूपण, दोषीलाई जवाफदेही बनाउने र पीडितको अधिकार सुनिश्चित गर्ने प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए।

सो अवसरमा मानव अधिकारकर्मी निर्मल नेपालीले ‘विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह’ विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति अमृतप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शाखाका उपसभापति माधव बस्नेतले गरेका थिए। कार्यक्रमको सहजीकरण संस्थाका सचिव मधुसुदन गौतमले गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला, द्वन्द्वपीडित तथा पत्रकारहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस

data-href="