सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका-१ बसन्तपुरमा गाँजा किनबेचको विवादले हिंसात्मक रूप लिँदा एक वृद्धको ज्यान गएको छ। घरमा सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाको टुक्राले प्रहार गरी घाइते बनाइएको घटनामा ७४ वर्षीय सुकदेव साहको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय १९ वर्षीय शंकरकुमार यादव पक्राउ परेका छन्।
प्रहरीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे यादव घरभित्र प्रवेश गरी सुतिरहेका साह र उनकी ७३ वर्षीया श्रीमती जिपसी देवीमाथि इँटाको टुक्राले टाउको र अनुहारमा प्रहार गरेर फरार भएका थिए।
भोलिपल्ट बिहान अबेरसम्म दम्पती नउठेपछि जेठा छोराले घरको ढोका खोलेर हेर्दा दुवै जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घाइते दम्पतीलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको थियो। उपचारकै क्रममा मंसिर ३ गते साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यादव गाँजा सेवनकर्ता रहेको र मृतकसँग गाँजा किनबेचका क्रममा विवाद भएपछि रिसइवी साँधेर आक्रमण गरेको खुलेको छ।
घटनापछि कात्तिक २८ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा यादव पक्राउ परेका थिए। साहको मृत्यु भएपछि उनीविरुद्ध ज्यान मार्ने उद्योग तथा ज्यानसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय केशरगञ्जले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस