after_navbar

उपमहानगरको दमकल खरिद प्रकृया रद्द


१३ घण्टा अगाडि


दाङ । तुलसीपुर उपमहानगरपालिकाले नयाँ दमकल खरिदका लागि अघि बढाएको प्रक्रिया रद्द भएको छ। बोलपत्रमार्फत खरिद प्रक्रिया अघि बढाइए पनि सहभागी कुनै पनि बोलपत्रदाता आवश्यक मापदण्डअनुसार योग्य नदेखिएपछि उपमहानगरपालिकाले प्रक्रिया रद्द गरेको हो।

उपमहानगरपालिकाको खरिद इकाई प्रमुख हिमालय शर्माले जारी गरेको सूचनाअनुसार २०८३ असोज ८ गतेको निर्णयबाट दमकल खरिदसम्बन्धी कारबाही रद्द गरिएको हो।

कार्यालयका अनुसार बोलपत्र मूल्यांकनका क्रममा प्राविधिक तथा अन्य आवश्यक मापदण्ड पूरा नगरेका कारण कुनै पनि बोलपत्र सारभूत रूपमा प्रभावग्राही नदेखिएको हो। त्यसपछि खरिद प्रक्रिया नै रद्द गर्ने निर्णय गरिएको जनाइएको छ।

प्रक्रिया रद्द भएसँगै उपमहानगरपालिकाले अब नयाँ प्रक्रियामार्फत दमकल खरिद गर्नुपर्ने भएको छ। यसका कारण तुलसीपुरमा नयाँ दमकल सञ्चालनमा ल्याउने योजना थप लम्बिने देखिएको छ।

तुलसीपुरको दमकल गत वर्ष भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आगजनीमा परी पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसयता उपमहानगरपालिका दमकलविहीन अवस्थामा छ।

पश्चिम दाङका चार स्थानीय तहमध्ये तुलसीपुरले मात्रै दमकल सञ्चालन गर्दै आएको थियो। तुलसीपुरको दमकलसमेत सञ्चालनमा नरहेपछि अहिले पश्चिम दाङका चारवटै स्थानीय तह आगलागी नियन्त्रणका लागि बाह्य स्रोतमा निर्भर छन्।

आगलागीका घटना हुँदा तत्काल नियन्त्रणका लागि घोराहीबाट दमकल मगाउनुपर्ने अवस्था छ। घोराहीबाट दमकल आउन लाग्ने समयका कारण आगलागी नियन्त्रणमा ढिलाइ हुनसक्ने र त्यसबाट थप क्षति हुने जोखिम रहेको छ।

नयाँ दमकल खरिद प्रक्रिया रद्द भएपछि उपमहानगरपालिकाले पुनः बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाउनु पर्ने भएको उपमहानगरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="