after_navbar

वर्षा र बाढीपहिरोबाट प्रभावित २० पालिका सङ्कटग्रस्त घोषित


१६ घण्टा अगाडि


काठमाडौ । सरकारले वर्षा, बाढी तथा पहिरोबाट प्रभावित ६ जिल्लाका २० वटा पालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारले उक्त निर्णय गरेको हो।

सङ्कटग्रस्त घोषित जिल्लामा गोरखा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रहेका छन्। यी जिल्लाका विभिन्न पालिका तथा केही वडालाई सङ्कटग्रस्त क्षेत्रमा समावेश गरिएको छ।

गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ तथा मनाङको चामे, नासों र मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न वडा सङ्कटग्रस्त घोषित भएका छन्। म्याग्दीका अन्नपूर्ण, बेनी, मङ्गला, धवलागिरि र मालिका स्थानीय तह पनि सूचीमा परेका छन्।

त्यस्तै, बागलुङका निसीखोला, बडिगाड, तमानखोला र ताराखोला तथा पर्वतका जलजला, फलेवास, बिहादी, महाशिला र मोदीका विभिन्न वडा सङ्कटग्रस्त क्षेत्रमा समेटिएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका-५ पनि सूचीमा परेको छ।

सरकारको यो निर्णयले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण, पुनरुत्थान तथा पुनर्निर्माणका काम अघि बढाउन र आवश्यक बजेट तथा जनशक्ति परिचालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="