दाङ । दाङको लमही नगरपालिका–१ सुण्डबरीमा बसको ठक्करबाट लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका वरिष्ठ लेखा अधिकृत चेतबहादुर केसीको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय केसीले चलाएको मोटरसाइकललाई शुक्रबार साँझ करिब ६ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि लमही अस्पताल पुर्याइएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस