काठमाडौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन भएपछि कांग्रेस आज बन्दसत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढेको हो। बन्दसत्रअघि खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक बसेको छ। बैठकले बन्दसत्रमा पेस हुने प्रतिवेदन तथा एजेन्डा अनुमोदन गरेपछि बन्दसत्र सुरु हुने प्रवक्ता देवराज चालिसेले बताएका छन्।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। बन्दसत्रपछि नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
निर्वाचन समितिका अनुसार आज महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गरी दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढाइनेछ।
आज उम्मेदवारी मनोनयन
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि आज दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता हुने निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस